ममताको हत्या नरेशले गरेको अदालतको ठहर !


अमेरिकामा भएको डरलाग्दो घटनामा अन्ततः त्यहाँको अदालतले पीडित परिवारलाई न्याय दिएको छ। बेपत्ता नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्।

करिब ६ हप्तासम्मको सुनुवाइपछि अमेरिकाको भर्जिनियास्थित अदालतले मंगलबार नरेशविरुद्ध ‘फर्स्ट-डिग्री मर्डर’ (गम्भीर प्रकृतिको हत्या) मा दोषी पाइएको फैसला गरेको हो।

भट्टले काफ्लेको शवको अपमान गरेको र त्यसलाई लुकाएको ठहर पनि अदालतले गरेको छ। हत्याका अभियुक्त नरेशले ममताको हत्या नगरेको तर, शव टुक्रा पारेर व्यवस्थापन गरेको बयान दिएका थिए।

यसअघिको सुनुवाइमा नरेशले काफ्ले बेडरुममा मृत भेटिएको र आफूले उनको शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए।

तर मंगलबार बहसको अन्तिम चरणमा सरकारी वकिलले जुरीलाई भट्टको ‘मनगढन्ते र बेतुकका कुरा’मा विश्वास नगर्न आग्रह गरेका थिए।

वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी (सरकारी वकिल) सारा सामीले भनिन्, ‘प्रतिवादी (नरेश) ले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’

‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँ (ल्यान्डफिल) लाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ ‘हराइरहेकी’ हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि ‘हराएकी’ छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ’, सामीले थपिन्।

प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएका भट्टलाई कम्तीमा २० वर्षदेखि बढीमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ। शव लुकाएको र अपवित्र पारेको अन्य कसुर प्रत्येकमा पाँच/पाँच वर्षसम्म कैद हुन सक्छ। भट्टलाई हुने सजाय अब मार्च महिनामा सुनाइनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय