फणिन्द्रको ढाडमा टेकेर बाबुरामको टाउको फुटाउने प्रचण्ड प्रयास !

शिरज शर्मा

कुनै समय दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने योजनाका मुख्य योजनाकार मानिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला गण्डकीका सभामुख मार्फत पुर्व सहकर्मी बाबुराम भट्टराईमाथी जाइलाग्‍न थालेका छन् । उनको यो श्रृङ्खला नयाँ भने होइन। बाबुराम मात्रै होइन प्रचण्डले सत्ता र शक्तिका लागि जसलाई पनि, जतिखेर पनि र जे पनि गर्न सक्छन् !

गोरखा-२ बाट निर्वाचित प्रचण्ड संघीय सरकारका प्रधानमन्त्री छन्, उनैलाई आफ्नो निर्वाचन क्षेत्र छाड्ने नेसपा महाधिवेशन आयोजक समिति संयोजक बाबुराम गोरखा-२ कै हुन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि गोरखा-२(२) र नेसपा सांसद फणीन्द्र देवकोटा पनि गोरखा-२(१) कै हुन् । यति मात्रै होइन प्रदेश सभामुख कृष्ण धिताल पनि गोरखाकै हुन् । यति हुँदा पनि बाबुराम र फणीन्द्रलाई प्रचण्ड र कृष्ण धितालले शत्रुतापुर्ण व्यबहार देखाइरहेका छन् किन ? यसको उत्तर खोज्न थालियो भने सिङ्गो १० बर्षको जनयुद्ध र त्यसयताका हरेक दिन,महिना र बर्षका घटना बुझ्नुपर्ने हुन्छ जुन अहिले सम्भव छैन ।

पछिल्लो घटनालाई मात्रै हेर्ने हो भने नेसपा नेता एवं गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटालाई सर्वोच्च अदालतले प्रदेशसभा सदस्यको रुपमा कामकाज गर्न दिनू भनेर अन्तरिम आदेश दिए पनि सभामुख रहेका कृष्ण धितालले गण्डकी प्रदेशसभा हलमा छिर्न दिएनन् । सभामुखकै निर्देशनमा अदालतको आदेस लत्याएर देवकोटालाई मर्यादापालकले छिर्न नदिएपछि उनी घन्टौं गेटमै रोकिए । यो अनौठो र आश्चर्यको घटना किन भयो ? यसको उत्तर चाहिँ भेटिएला !

पहिलो कुरा फणीन्द्रले माओवादी ह्वीप उल्लंघन गरे भन्ने छ ! जब उनी माओवादी नै होइनन् । फणीन्द्र आफैंले भने ‘म माओवादी होइन, नेसपा हुँ’ त्यसपछि बाबुरामले भने फणीन्द्रले माओवादीको होइन नेसपाको ह्विप मान्नुपर्छ ! त्यसपछि गण्डकी प्रदेश सभा र निर्वाचन आयोगमा अभिलेख छ फणीन्द्र नेसपा सांसद हुन् ! अनि त्यसले पनि चित्त नबुझे सर्बोच्चले भनिसकेको छ फणीन्द्र माओवादी होइनन् नेसपा सांसद हुन्,सोही अनुसार काम गर्न दिनु ! अब यो भन्दा बढी प्रचण्ड र कृष्ण धिताललाई के चाहिएको हो ? ब्रम्हा,बिष्णु र महेश्वर आएर भनिदिनुपर्‍यो कि मार्क्स,लेनिन र माओले बोलिदिनुपर्‍यो ?

दोस्रो कुरा,नेसपा सांसद रहेका फणीन्द्रले मुख्यमन्त्री रहेका सुरेन्द्र पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका थिए। जसले गर्दा गण्डकी प्रदेश सरकार जोगियो र मध्यावधिमा गएन। तर, संगसँगै माओवादी-एमाले गठबन्धनलाई चोट पुग्यो, एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री र माओवादीका २/४ थान मन्त्री हुने बाटो बन्द भयो ! त्यसपछि प्रचण्डलाई रिस उठ्यो,सभामुख कृष्ण धितालले प्रचण्डको आदेस पालना गर्दै जेठ २८ गते फणीन्द्रलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुका साथै संसदलाई जानकारी गराए।

त्यसपछि अन्याय सहन हुन्न भनेर कारबाहीविरुद्ध रिट लिएर फणीन्द्र सर्वोच्च अदालत पुगे। सर्वोच्चले फणीन्द्र नेसपा सांसद रहेको र अहिलेपनि नेसपामै रहेको दल त्याग नगरेको भन्दै सर्वोच्चले कामकाज गर्न दिनू भनेर अन्तरिम आदेश दियो । प्रचण्डको आदेश कृष्ण धितालले मानेपनी अदालतले मान्ने कुरा भएन। त्यसपछि प्रचण्डले सम्पुर्ण शक्ति खर्च गरेर भएपनी फणीन्द्रलाई रोक्ने नीति बनाए जुन कुरा सभामुख मार्फत प्रदेश सभा छिर्न रोकियो।

सर्वोच्चको आदेशअनुसार प्रदेशको संसद सचिवालयमा पत्र पनि दर्ता भएको छ। सर्वोच्चको अन्तरिम आदेश पत्रलाई जिल्ला अदालत कास्कीले सभामुख धितालकै समन्वयमा संसद सचिवालयमा दर्ता पनि गराएको छ। तर,उनै सभामुख धिताल झुठ बोलिरहेका छन् । सभामुखलाई फणीन्द्र कुन दलको भन्ने बारेमा अस्पष्ट भयो रे ! फणीन्द्र नेसपामै आवद्ध भएको भन्ने तथ्य नेपाल राजपत्रमा प्रकाशित सूचनामा समेत छ। तर, सभामुख भन्दैछन्- ‘उहाँ कुन दलको भन्नेमा स्पष्ट हुन सकिन !’

हुन त बाबुराम माथि प्रचण्डको यस्ता उच्छृंखल हर्कत धेरै छन् । युद्धकालमा बाबुराम नै सिध्याउन पनि तयार थिए प्रचण्ड। तत्कालीन अवस्थामा राजासँग मिल्ने आफ्नो योजना विफल पारेको र शान्ति र संविधानका कुरा गरेर जनतामा लोकप्रिय हुँदै गएकोले बाबुराम माथी प्रचण्ड खुशी थिएनन् । अन्ततः बाबुराम कै लाइन अनुसार युद्धबाट शान्तिमा फर्केर संविधान सभा मार्फत संविधान,राजतन्त्रको अन्त्य,संघीयता र धर्मनिरपेक्षतामा देश गएपछि प्रचण्ड नै त्यसको हर्ताकर्ता बने ।जसका कारण आजसम्म पनि उनको ‘उथलपुथल’ कायम छ। त्यो क्रान्ति,त्यो बलिदान र त्यो बिचार सबै बिर्सेर क्रान्तिकारी भनिएका प्रचण्ड द्रुतगतिमा एमालेकरण हुन समय लागेन।

जब प्रचण्ड सत्ता र शक्तिका लागि जुनसुकै हर्कत गर्न तयार हुन्छन् अनि सबैभन्दा पहिले बाबुराम माथि निशाना लगाउँछन् । पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन सेनाप्रमुख रुक्मांगत कटुवाललाई हटाउने योजना आफैंले बनाए। एमालेको अध्यक्ष रहेका झलनाथ खनालसँग एक्लै भेटेर योजना सुनाए। प्रचण्डको सेनाप्रमुख हटाउने योजना सुनेर झलनाथ चीन भ्रमण गए। यता प्रचण्डले कटुवाल हटाए उताबाट झलनाथले ‘मलाई थाहा छैन’ भनिदिए । त्यसपछि प्रचण्डले आजसम्म पनि एकातिर बाबुराम र अर्कोतिर बादल(रामबहादुर थापा) बसेर मलाई कटुवाल हटाउन उचाले भन्दै हिंडेका छन् । के साच्चै कटुवाल हटेर कुलबहादुर खड्का सेनाप्रमुख भैदिएको भए आज प्रचण्डले त्यो ‘क्रेडिट’ आफैं लिन्थे कि बाबुरामलाई दिन्थे ?

अर्को कुरा, दोस्रो जब बाबुराम प्रधानमन्त्री भए त्यसबेला प्रचण्ड खुशी थिए त ? पक्कै थिएनन् । यदि उनी खुशी हुन्थे भने ‘धोबिघाट’ बैठक जरुरी नै पर्दैनथ्यो। बाबुराम प्रधानमन्त्री भएपछि प्रचण्डले सबैभन्दा पहिले बाबुरामलाई भारतीय एजेन्ट हो भन्न लगाए । प्रचण्ड चाहन्थे बाबुरामलाई भारतिय एजेन्ट भनिदिन पाए देशभित्र आफू सच्चा क्रान्तिकारी देखिने र उता भारतको लागि पनि ‘खास’ हुन पाइने ।त्यसैले बाबुरामलाई एजेन्ट करार गर्नकै लागि प्रचण्डले कार्यकर्ताको बिचमा सधैं झुठ मात्रै बोले र बोल्न सिकाए।

त्यसको सुरुवात प्रचण्डले पालुङटार प्लेनम बाटै सुरु गरेका थिए। गोरखाको पालुङटार प्लेनममा एकातिर बाबुरामको शान्ति र संविधानको लाई थियो भने अर्को मोहन वैद्य र सिपि गजुरेलको जनबिद्रोहको लाईन थियो। प्रचण्डले त्यस अगाडि सत्ताको स्वाद चाखिसकेको कारण उनी मोहन बैद्दलाई पनि चिढ्याउन हुन्न र जनबिद्रोह भनिरहनुपर्छ तर, बाबुरामको लाइन ठिक छ पनि भन्न हुन्न ! भन्ने पक्षमा थिए।  बाहिर जनबिद्रोह भनेपनी भित्र भित्र शान्ति र संविधानका कुरा गर्न खोज्ने  तर त्यसको क्रेडिट चाहिँ बाबुरामलाई दिनहुन्न भन्ने उनको बोली र व्यवहार देखिन्थ्यो। खासगरी बाबुराम र मोहन वैद्यको बीचमा खेलेर नै प्रचण्ड आफू अब्बल साबित हुन खोज्थे।

त्यसपछि संविधान जारी गर्ने बेलामा पनि प्रचण्ड बाबुरामलाई माइनस नै गर्न चाहन्थे।संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराई भएका कारण कतै त्यसको क्रेडिट बाबुरामलाई जाने हो कि भन्ने त्रास प्रचण्डमा थियो। त्यसैले जनताले दिएको प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने सुझावलाई बेवास्ता गर्दै सुझाबको ‘पोको’ खोल्नै नदिइ संविधान जारी गर्न प्रचण्ड प्रयासरत थिए। प्रचण्डलाई बाबुराम जनतामा लोकप्रिय हुँदै गएको मन परेको थिएन।

जब २०७२ मा संविधान जारी भएपछि बाबुरामले नयाँ शक्ति निर्माणको कुरा गर्न थाले प्रचण्डलाई खपिनसक्नु भयो । उनले बाबुरामलाई सकेजती नङ्ग्याउने प्रयास गरे। सत्ता र शक्तिको आडमा बाबुरामलाई देशकै कतिपय ठाउँमा प्रचण्डले आफ्ना कार्यकर्ता उतारेर नाराबाजी गर्न समेत लगाए। नयाँ शक्तिलाई चुनाव लड्नै नदिने योजना अनुरुप चुनाव चिन्ह दिन मिल्दैन भनेर दिइएन । जब कि संविधानले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगमा दल दर्ता गर्दा नै चुनाव चिन्ह उल्लेख हुन्छ। राजनीतिक दल खोलिसकेपछी चुनाव चिन्ह दिन्न भन्न मिल्दैनथ्यो तर,प्रचण्डको शासनकालमा मिल्यो । बाबुरामले चुनाव  चिन्ह पाएनन् ।

यति धेरै दु:ख र हैरानी दिएका प्रचण्डले एकपटक भावुक भएर रोइदिएको भरमा बाबुरामले २०७९ मा आफ्नो निर्वाचन क्षेत्र नै छाडिदिए। बाबुरामले गोरखा-२ प्रचण्डलाई नछाडेको भए सायद आज फणीन्द्रले संसदको ढोकामा बसेर प्रचण्डको ‘उथलपुथल’मा माओवादी कोटाबाट प्रदेश सभामुख भएका कृष्ण धितालको हालिमुहाली हेर्न पर्ने थिएन। सायद यसैलाई भनिन्छ फणीन्द्रको ढाडमा टेकेर बाबुरामको टाउकामा प्रहार !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय