जीप दुर्घटना अपडेट: मृतकको संख्या चार पुग्यो, सबैको पहिचान खुल्यो

पाल्पा, २२ जेठ । पाल्पामा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक सबैको पहिचान पनि खुलेको छ ।
दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा चालक अर्घाखाँचीको पाणिनी १ का २६ वर्षीय रमेश विक, सोही स्थानको ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ का २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।
बालक संयोगको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी अन्य ११ जना घाइते छन् जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

