इन्द्रको अगाडि बहादुर बाधक !

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसभित्र गुटगत राजनीतिको प्रभाव केन्द्र सरकार गठनदेखि प्रदेशसम्मै देखिने भएको छ । केन्द्रमा शेरबहादुर देउवा र शेखर कोइराला-गगन थापा समुह देखिएको छ भने प्रदेशमा पनि यी दुवै प्यानलको प्रभाव छ ।
यतिबेला गुटगत प्रभावको पहिलो कास्टिङ नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलमा देखिने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दौडमा रहेका पार्टी प्रदेश सभापति इन्द्र बानियाँले देउवा पक्षका नेता बहादुरसिंह लामासंग प्रतिस्पर्धा गर्नुपर्ने निश्चित देखिएको छ ।
यसअघि कृष्ण सिटौला निकट भनेर चिनिएका बानियाँले देउवा गुटमा आफ्नो प्रभाव देखाउन नसक्दा संसदीय दलको नेतामै देउवाका खास मानिएका बहादुरसिंह लामासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको हो । सायद त्यही कारण यतिबेला बानियाँले बालुवाटारबाट धोका भएको भन्दै शेखर-गगन गुटसँग निकटता बढाउन थालेका छन् ।
पार्टी केन्द्रीय सदस्यसमेत रहेका नुवाकोटका लामाले मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभामा उठेको र अर्जुननरसिंह केसी प्रतिनिधिसभा छाडेको भन्दै आएका छन् । सोही कारण लामालाई देउवा गुट बाहेक पनि अर्जुननर्सिङ केसीको टिम र प्रकाशमान सिंह समूहले समेत सघाउने बुझिएको छ ।
सुरुमा बालुवाटारको रोजाइमा रहेका बानियाँलाई रोक्न एकाएक देउवा समूहले लामालाई अघि सारेको बानियाँ पक्षको आरोप छ । बालुवाटारले धोका दिने संकेत देखेपछि बानियाँ शेखर-गगन समूहसंग भेटघाटमा रहेको काङ्ग्रेसका एक नेताले बताए । बानियाँले सिरियस भएर कुरा ल्याएको हो भने शेखर-गगन समूह उनीप्रति सकारात्मक हुनसक्ने गगन समुहका एक नेता बताउँछन् ।
यो पनि पढ्नुहोस्:
बानियाँको सम्बन्ध बालुवाटारसँग बिग्रनुमा काँग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’को पराजय नै मुख्य भएको स्रोतको भनाइ छ । मकवानपुरबाट डिनाले चुनाव हार्नुमा बानियाँले सहयोग नगरेको रिपोर्टिङ बालुवाटारमा पहिल्यै भैसकेको कारण लामालाई नै मुख्यमन्त्री बनाउने कसरतमा बालुवाटार लागेको एक नेताले बताए ।
चुनावको प्रचार-प्रसारको क्रममा पनि डिना र बानियाँसँगै नदेखिएको र एकले अर्कोलाई हराउन लागेको आरोप लागेको थियो । चुनावमा बानियाँले प्रदेशमा जिते पनि प्रतिनिधि सभामा डिनाले पराजित हुनुपर्यो ।
हारको कारण अन्तर्घात भएको र त्यसमा इन्द्र बानियाँ समूहको हात रहेको भन्दै डिनाले बालुवाटारमा उजुरी दिएपछि बानियाँको मुख्यमन्त्री बन्ने दौडमा बहादुरले ‘ब्रेक’ लगाउन सक्ने अड्कलबाजी सुरु भएको छ ।

