डिनाले हारेपछि बानियाँको मुख्यमन्त्री ब्रेक !

परेवान्युज

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले मकवानपुरबाट प्रतिनिधिसभाको चुनाव हारेलगत्तै आएको प्रतिक्रियाले बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्ने दौडमा रहेका इन्द्रबहादुर बानियाँलाई ब्रेक लाग्न सक्ने अनुमान गरिएको छ ।

पार्टीको बागमती प्रदेश सभापति समेत रहेका बानियाँ अबको मुख्यमन्त्री हुने कुरा पक्का जस्तै भएपनि उनलाई मुख्यमन्त्री बन्न नदिने गरि तयारी भएको बुझिएको छ । उनै महालक्ष्मी उपाध्यायले बानियाँलाई रोक्न नुवाकोटका प्रदेश सभा सदस्य बहादुर सिंह लामालाई मुख्यमन्त्री बन्न उत्प्रेरित गरिरहेको चर्चा छ । स्रोतका अनुसार लामालाई मुख्यमन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवा पनि लचिलो देखिएका छन् ।

पार्टी सभापति सहित अन्य नेताको समेत साथ पाएका लामाले समेत आफू मुख्यमन्त्रीको दौडमा रहेको स्वीकार गरेका छन् । मकवानपुरको चुनावी नतिजा सार्वजनिक नहुँदै डिनाले कांग्रेसभित्रकै अन्तर्घातका कारण जितिसकेको चुनाव हारेको प्रतिक्रिया दिएकी थिइन् । उनले आफूलाई काँग्रेस बागमतीका सभापति इन्द्र बानियाँले सहयोग नगरेको आरोप लगाउदै आएकी छिन् । तर, डिनाले आफूमाथि अन्तर्घातको आरोप लगाएको बारे बानियाँले भने होइन भन्दै आएका छन् ।

बागमती प्रदेशमा कांग्रेसले संघमा १३ र प्रदेशमा २५ सिट जितेको छ ।बानियाँले यसको श्रेय आफुले पाउनुपर्नेमा उल्टै हराउन खोजेको भन्ने आरोप झुठो भएको बताउँदै आएका छन् ।

कांग्रेसको जति मत हो त्यति डिनाले पाएको कांग्रेसकै नेताहरू बताउछन् । बरु माओवादीले डिनालाई भोट नदिएको र राप्रपा उम्मेदवार दिपक सिंहलाई दिएको आरोप पनि छ ।

उता पार्टी भित्रको कुनै एउटा समुह बानियाँलाई मुख्यमन्त्री बन्नबाट रोक्नकै लागि डिनाले अन्तर्घातको आरोप लगाएको भन्ने चर्चा समेत सुनिन थालेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय