दक्षिण कोरियामाथि सहज जीत निकाल्दै ब्राजिल क्‍वाटरफाइनलमा

काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत मध्यराति सम्पन्‍न खेलमा ब्राजिलले सहज जीत निकालेको छ । क्‍वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराएको हो ।

ब्राजिलको जीतमा भिनिसियस जुनियर, नेयमार जुनियर, रिचार्लिसन र लुकास पाकेटाले एक-एक गोल गरे । दक्षिण कोरियाका पाक सुङ होले सान्त्वना गोल गरे ।

खेलको सातौं मिनेटमै युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-० को आरामदायी अग्रता दिलाए । ३६औं मिनेटमा लुकास पाकेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनायो ।

दोस्रो हाफमा केही सम्हालिएको प्रदर्शन गरेको कोरियाले थप गोल व्यहोरेन र एक गोल पनि फर्कायो । ७६औं मिनेटमा सुङ होले बक्स बाहिरबाट शानदार गोल गरेपनि सान्त्वना मात्र बन्यो ।

यो जीतसँगै ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्ने छ । क्रोएसियाले जापानलाई हराएर अन्तिम आठमा स्थान बनाएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय