जापानलाई टाइब्रेकरमा स्तब्ध पार्दै क्रोएसिया क्‍वाटरफाइनलमा

काठमाडौं, २० मंसिर । क्रोएसिया कतारमा जारी फिफा विश्‍वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जापानलाई टाइब्रेकरमा ३-१ ले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा क्रोएसियन गोलरक्षक डोमिनिक लिभाकोभिचले जापानको तीन पेनाल्टी प्रहार रोकेका थिए ।

जापानका ताकुमा आसानोले गरेको प्रहार मात्र गोल हुँदा ताकुमी मिनामिनो, कारो मितोमा र मया योशिदाको प्रहार लिभाकोभिचले रोकेका थिए । क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचको प्रहार गोल भयो भने मार्को लिभाजाको प्रहार मिस भयो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा जापानले पहिले अग्रता लिएको थियो । पहिलो हाफको ४३औं मिनेटमा डाजेन माडाले गोल गर्दै एसियाली राष्ट्रलाई अगाडि राखे ।

दोस्रो हाफको ५५औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल नहुँदा खेल अतिरिक्त समय र त्यसपछि टाइब्रेकरमा धकेलिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय