अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा, अस्ट्रेलिया पराजित

काठमाडौं, १८ मंसिर । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यराति सम्पन्न अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै अर्जेन्टिना अगाडि बढेको हो ।
अर्जेन्टिनाको जीतमा लियोनल मेस्सी र जुलियन अल्भारेजले १-१ गोल गरेका थिए । अस्ट्रेलियाले गरेको एक गोल अर्जेन्टिनाका खेलाडीलाई लागेर गोल भएको थियो ।
खेलको ३५औं मिनेटमा मेस्सीको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । पहिलो हाफ १-० कै अवस्थामा सकिएको थियो । दोस्रो हाफमा थप गोल भए ।
५७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा अस्ट्रेलियाले एक गोल फर्कायो । क्रेग गुडविनले २५ यार्ड टाढाबाट गरेको प्रहार अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई लागेर गोल भएको थियो ।
त्यसपछि थप गोल भएनन् र अर्जेन्टिना २-१ को जीतसहित क्वाटरफाइनलमा प्रवेश गर्यो । अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्ने छ।
नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो ।

