अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, १७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार राति भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलअन्तरले हराएको हो ।
नेदरल्यान्ड्सको जीतमा मेम्फिस डिपाए, डाले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले १-१ गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।
खेलको १०औं मिनेटमा डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ७६औं मिनेटमा अमेरिकाका राइटले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर ८१औं मिनेटमा डम्फ्रिसले गोल गरेपछि नेदरल्यान्ड्स ३-१ ले अगाडि बढ्यो ।
त्यसपछि थप गोल हुन सकेन र नेदरल्यान्ड्सले अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो । नेदरल्यान्ड्सले अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेतासँग खेल्ने छ ।

