चालक निदाएको अनुमान, ओरालो बाटोबाट जीप २०० मिटर तल खस्यो…
सल्यान, १२ असोज । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीयहरु बाँकेको नेपालगञ्जबाट बिहे भोज खाएर डबल क्याप जीप रिजर्भ गरी घर फर्कदैं थिए ।
राति करिब १२ बजेतिर दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा रा १ ज ५६३ नम्बरको उक्त जीपले एन्ट्री गरेर सल्यानतर्फ लाग्यो । कपुरकोट गाउँपालिका वडा नं ३ मूलपानी आइपुग्दा करिब सवा एक बजेको समयमा जीप दुर्घटनामा पर्यो ।
गाउँनजिकै आइपुग्दा भएको दुर्घटनामा परी एकै ठाउँका सातसहित ८ ज्यान गएको छ भने एकजना घाइते छन् । दुर्घटनापछि सारा गाउँ अहिले शोकमा डुबेको छ ।
दुर्घटनामा परी बाँचेका एकमात्र व्यक्ति तिलक वलीको दुवै खुट्टामा चोट लागेको छ । उनको घुँडामूनिको भाग फ्र्याक्चर नै भएको छ भने उनलाई तुलसीपुरबाट रिफर गरेर बाँके पठाइएको छ ।
उनका अनुसार चालक निदाएकाले दुर्घटना भएको हो । ‘गाडीमा भएका सबै यात्रु निदाइरहेका थिए । सायद चालकलाई पनि निद्राले भेट्यो होला । मैले त जीप खसेपछि मात्र थाहा पाएको हूँ’, उनले भने ।
प्रहरीका अनुसार गाडी ओरालोबाट करिब २०० मिटर तल खसेको छ । चालक निदाएर दुर्घटना भएको हो वा ब्रेकमा समस्या आएर दुर्घटना भएको भन्ने यकिन नभइसकेको जनाइएको छ ।