रामेछाप बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो

रामेछाप, २१ असार । रामेछापमा मङ्गलबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

९ जनाको घटनास्थलमै तथा ४ जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापाती–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।

प्रहरीका अनुसार हाल धुलिखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय