क्रिकेट मैदानको नाम परिवर्तन स्वीकार्य छैन: मेयर कार्की

काठमाडौं, १७ असार । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन् ।
शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको थियो । मैदान क्यानका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ साहको नाममा राखिएको हो ।

