पुष्पलालको जन्म शताब्दी: कम्युनिष्ट नेताहरुले के भने ?

काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले पुष्पलाल जन्म शताब्दी मनाउने भएको छ । अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आगामी एक वर्षभित्र गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ।
पुष्पलालको जन्मजयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले यो कार्यक्रम सार्बजनिक गरेका हुन्।पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापको भंगेरीमा जन्मिएका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता-कार्यकर्तालाई पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराईले बताए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गरेका छन् । पुष्पलालको योगदानका कारण अहिले लगभग ७० प्रतिशत मत कम्य्निष्टहरुको पक्षमा रहेको दाबी गर्दै उनले कम्युनिष्टहरुले उनको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा छाएको बताए ।
नेपालमा अहिले रहेका साना तथा ठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी रहेको उनले बताए । उनले रामेछापलाई कम्युनिष्टहरुको उद्गमस्थलको रूपमा चिनाउन चाहेको समेत बताए ।
रामेछापको पुष्पलाल पार्कमा पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र कृष्णलाल अधिकारी र गंगालालको शालिक निर्माणको थालनी भएको भएपनि अपुरो अवस्थामा रहेको भन्दै उक्त कार्य अहिले वेवारिसे अवस्थामा रहेको र करिब पचास लाखभन्दा बढी भुक्तानी बाँकी नै रहेको बताए।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्यान नसक्नेले विकल्प दिनपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिष्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको पनि उनको भनाई थियो। गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको भन्दै गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए ।
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिष्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमाक्र्सवादी दृष्टिकोणको संज्ञा दिए । ‘गल्ती नगर्ने र गल्ती नसच्याउने’ मान्छे नै नहुने उनको भनाई थियो।
पुष्पलालले जहिल्यैपनि संयुक्त मोर्चाको नीति र संयुक्त जनआन्दोलनको नीति अगाडि सारेको स्मरण गर्दै उनले कम्युनिष्टहरु एक ठाउँमा जोडिन आवश्यक रहेको बताए । ‘कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ । सके एउटै पार्टी बनाउनुपर्छ, नभए मोर्चा बनाउनुपर्छ । त्यो पनि नभए कुनै न कुनै मुद्दाका आधारमा हामी जहिल्यैपनि सकारात्मक हुने र नजिक हुने प्रयास गर्नुपर्छ’, उनले भने ।
नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पूरा गर्न सबैसमक्ष आग्रह गरे । कम्युनिष्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोहअवरोह व्यहोरेको बताए । देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरुको समिक्षा हुन आवश्यक रहेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी मसालका नेता रामप्रकाश पुरीले अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए । आफूहरुलाई मूल समारोहमा राखिएकोप्रति प्रतिवद्धता जाहेर गरेको बताए । नेपालमा जसले घण्टी बजाएपनि नेपालमा कम्युनिष्ट आन्दोलन रहिरहने उनको दाबी थियो।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पुष्पलालका नेता मानध्वज, नेकपा (एकीकृत समाजवादी)का आलोक रायमाझी, पुष्पलाल अध्ययन समाजका सल्लाहकार समितिका अध्यक्ष दीननाथ शर्मा लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र आगामी बाटो लगायतका बारेमा विचार व्यक्त गरेका थिए ।

