पशुपतिमा राखेको सुनको जलहरीको तौल कति ?

काठमाडौं, ११ असार । केही समयदेखि चर्चित पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।
उक्त सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो । जलहरि निकाल्ने र जोख्ने बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो । गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरि जोखेका हुन्।
पशुपतिमा जलहरि राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो। जलहरि छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो ।
पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो ।

