विश्‍वकप छनौट: बलियो वेस्ट इन्डिजसँग नेपाल स्तब्ध

काठमाडौं, ७ असार । जिम्बावेमा जारी आइसिसी विश्‍वकप छनौटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल बलियो टोली वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको हो ।

वेस्टइन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रन बनाए भने गुल्शन झाले ४२ रन बनाए । हारका बाबजुद नेपालले सम्मानजनक स्कोर बनाएको मान्‍नुपर्ने हुन्छ ।

वेस्ट इन्डिजका जेसन होल्डरले १० ओभरमा ३४ रन मात्र दिएर ३ विकेट लिए । त्यस्तै अकिल होसेन, अल्जारी जोसेफ र किमो पलले २ २ विकेट लिँदा रस्टन चेजले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो । उसका लागि कप्तान शाइ होप र निकोलस पूरनले शतकीय पारी खेल्दै दोहोरो शतकीय साझेदारी समेत गरेका थिए । होपले १३२ तथा पूरनले ११५ रन बनाए ।

नेपालका ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिँदा सन्दीप लामिछानेले १० ओभरमा ५० रन खर्चेर १ विकेट, गुल्शन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट तथा करण केसीले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिएका थिए ।

जीतसँगै वेस्ट इन्डिजले २ खेलमा ४ अंक जोडेको छ र समूह ए मा । नेपालको ३ खेलबाट २ अंक मात्र छ । नेपालले अब अन्तिम खेल नेदरल्यान्ड्ससँग शनिबार खेल्ने छ । उक्त खेल नेपाललाई जित्‍नैपर्ने दबाब हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय