स्थानीय तहको बजेट प्राथमिकताबारे कांग्रेसको छलफल
काठमाडौ। नेपाली कांग्रेसद्वारा स्थानीय तहको बजेट ०८०/०८१ को प्राथमिकताबारे छलफल शुरु भएको छ।
पार्टीको गोकर्णेश्वर नगर समिति र काठमाडौ-३ नम्बर क्षेत्रको प्रदेश समितिले बुधबार आयोजना गरेको ‘स्थानीय तहको बजेट ०८०/०८१ को प्राथमिकता तथा छलफल कार्यक्रम’ मा यसबारे बहस र चर्चा भएको हो।
काठमाडौ-३ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे,बागमती प्रदेश सभा सांसद छिरिङ दोर्जे लामा,बिमल ठकुरी,गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल,कांग्रेस प्रदेस (क) सभापति श्रीराम चालिसे,गोकर्णेश्वर नगर प्रवक्ता नारायण सुवेदी लगायतले छलफलमा धारणा राखेका थिए।
कार्यक्रममा नगरप्रमुख रिसालले बिकास र समृद्धिको दिशामा जनप्रतिनिधिको रुपमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै जनताको अपेक्षा अनुसार काम गर्न आफू दृढ रहेको सुनाए ।
उनले खानेपानी,ढल,बाटो लगायत जनताको आवश्यकता अनुसारका काम एक बर्षमा गर्न सकेको भन्दै आगामी दिनमा पनि जन अपेक्षा अनुरुप काम गर्न स्थानीय बजेट मार्फत जनताको समस्या समाधान गरिने बताए।
प्रमुख अतिथि सन्तोष चालिसेले आफू गोकर्णेश्वरको पुर्व मेयर समेत भएकोले जनताको समस्या राम्रोसँग बुझेको भन्दै सांसदको रुपमा अझै जनतासँग जोडिएर काम गर्ने बताए। उनले जनताको काम गर्नकै लागि जनप्रतिनिधि निर्वाचित भएको भन्दै जनअपेक्षा अनुरुप काम गर्दै बिकास र समृद्धिमा थप टेवा पुर्याउने प्रतिबद्धता जनाए।


