विश्वकप छनौटको पहिलो खेलमा नेपाल र जिम्बावे खेल्दै

काठमाडौं, ३ असार । जिम्बावेमा आइतबारदेखि आइसिसी क्रिकेट विश्वकप छनौट सुरु हुँदै छ । छनौटअन्तर्गत पहिलो खेलमा नेपालले आजै घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । जिम्बावेको कप्तान क्रेग एर्भिन छन् भने नेपालको कप्तानी युवा खेलाडी रोहितकुमार पौडेलले गर्ने छन् ।
नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । नेपालले अर्को टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग पनि खेल्नुपर्ने छ ।
अघिल्लोपटक २०१९ को विश्वकपका लागि पारस खड्काको कप्तानीमा विश्वकप छनौट खेलेको नेपालले चार खेलमध्ये एक खेलमा मात्र जित निकालेको थियो । त्यसबेला नेपालले हङकङलाई हराउँदा जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँग हार व्यहोरेको थियो ।
जिम्बावेबाहेक नेपालले खेल्ने अरु प्रतिद्वन्द्वी यसपटक फरक छन् । अघिल्लोपटकको छनौटमा नेपालले जिम्बावेसँग विशाल अन्तरको हार व्यहोरेको थियो । नेपालले ५० ओभरमा ३८० रन व्यहोरेको थियो र जवाफमा २६४ रन मात्र बनाउन सक्यो ।
यो पनि पढ्नुहोस्: जिम्बावेमा नेपाली टोलीको अग्निपरीक्षा; सहज छैन विश्वकपको यात्रा

