जिम्बावेमा नेपाली टोलीको अग्निपरीक्षा; सहज छैन विश्वकपको यात्रा
प्रतिक भट्ट
आइसिसीको सबैभन्दा ठुलो प्रतियोगिता एकदिवसीय विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर-नोभेम्बर महिनामा भारतमा हुँदै छ । आयोजक भारतसहित सुपर लिगका शीर्ष ८ टोलीले सोझै विश्वकप खेल्दै छन् भने बाँकी २ टोलीका लागि छनौट खेल आइतबारदेखि सुरु हुँदै छ ।
छनौटमा नेपालसहित १० टोलीले प्रतिस्पर्धा गर्दै छन् जसमा श्रीलङ्का र वेस्ट इन्डिजजस्ता विश्वविजेता पनि समावेश छन् । नेपाल वेस्ट इन्डिजसँगै जिम्बावे, नेदरल्यान्ड्स र अमेरिकासँग समूह ‘ए’ मा छ ।
अघिल्लोपटक २०१९ को विश्वकपका लागि पारस खड्काको कप्तानीमा विश्वकप छनौट खेलेको नेपालले चार खेलमध्ये एक खेलमा मात्र जित निकालेको थियो । त्यसबेला नेपालले हङकङलाई हराउँदा जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँग हार व्यहोरेको थियो ।
जिम्बावेबाहेक नेपालले खेल्ने अरु प्रतिद्वन्द्वी यसपटक फरक छन् । स्कटल्यान्ड अर्को समूहमा छ भने अफगानिस्तान सोझै विश्वकप खेल्ने टोली भइसक्यो, त्यस्तै हङकङ भने प्रतियोगितामै छैन ।
उसै त विदेशी भूमिमा उत्साहजनक प्रदर्शन गर्न नसकेको नेपाली क्रिकेट टोलीलाई यसपटक पनि विश्वकपमा छनौट हुन फलामको चिउरा चपाएसरह छ । यसपटक फेरिएको टोली, फेरिएका कप्तान र प्रशिक्षकसामू यस छनौट अग्निपरीक्षाकै रुपमा रहने छ ।
नेपालको टोली: रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी, किशोर महतो, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्शन झा, ललित राजवंशी
नेपालले विश्व क्रिकेट लिग २ मा घरेलु मैदानमा पछिल्ला १२ खेलमा ११ खेलमा जीत निकाल्दै कठिन परिस्थितिबाट उठेर सोझै विश्वकप छनौटमा पुगेको थियो । घरेलु दर्शकको भरपुर साथ पाएको नेपालले त्यसपछि एसिसी प्रिमियर कपमा पनि नेपाल विजेता हुँदै एसिया कपका लागि पनि छनौट भएको छ ।
घरेलु मैदानमा हजारौं समर्थकसामू देखिएको फर्म अब नेपालले जिम्बावेमा पनि देखाउनुपर्ने हुन्छ । तर त्यो त्यति सजिलो भने हुने छैन । नेपाल तुलनात्मक रुपमा कठिन समुहमा नै परेको भन्दा फरक पर्दैन । विश्वविजेता भइसकेको वेस्ट इन्डिज, उत्कृष्ट फर्ममा रहेको जिम्बावे, नेदरल्यान्ड्स र अमेरिकालाई पन्छाउन नेपाललाई सहज भने हुने छैन ।
नेपालले पहिलो खेल जिम्बावेसँग आइतबार खेल्ने छ । अघिल्लोपटकको छनौटमा नेपालले जिम्बावेसँग विशाल अन्तरको हार व्यहोरेको थियो । नेपालले ५० ओभरमा ३८० रन व्यहोरेको थियो र जवाफमा २६४ रन मात्र बनाउन सक्यो । त्यसबेलाको त्यो ब्याटिङलाई भने उत्कृष्ट नै मान्नुपर्ने हुन्छ । तर यसपटक पनि जिम्बावेलाई हराउन संघर्ष गर्नु पर्ने देखिन्छ ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा अमेरिका र तेस्रो खेलमा इन्डिजको सामना गर्ने छ । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय विश्वकप विजेता हो । यद्यपि उसले विश्वकप जितेको १९७५ र १९७९ मै हो । तर पनि उसको ब्याटिङ क्षमता र टोलीका खेलाडीको प्रदर्शन विश्वस्तरीय नै छ । वेस्ट इन्डिजलाई श्रीलङ्कासँगै यस छनौटकै बलियो टोली मान्नु पर्छ । त्यसकारण वेस्टइन्डिजलाई हराउन पनि नेपालले बलिङ र ब्याटिङमा चमत्कार गर्नु पर्ने हुन्छ ।

त्यसपछिको अन्तिम खेल नेपालले नेदरल्यान्डससँग खेल्ने छ । अमेरिका र नेदरल्यान्डससँगको खेल नेपालका लागि तुलनात्मक रुपमा सजिलो हुनेछ किनभने यी दुई टोली विरुद्ध नेपालले जित पहिले पनि निकाल्दै आएको छ । नेदरल्यान्ड्ससँग केही दिनअघि भएको अभ्यास खेलमा भने नेपाल पराजित भएको थियो ।
अघिल्ला दुई खेलले नेपालको भाग्य निर्धारण गर्न सक्ने छ किनभने यी दुई खेलमा जीत निकालेमा नेपाल शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्न सक्ने सम्भावना बलियो बन्ने छ । सुपर सिक्समा रहने ६ टोलीबाट शीर्ष दुई टोलीले विश्वकपको यात्रा तय गर्ने छन् । प्रबल दाबेदारको रूपमा भने श्रीलङ्का र वेस्ट इन्डिजलाई नै लिन सकिन्छ ।
प्रशिक्षक मोन्टी देसाइको आगमन र युवा खेलाडी रोहित पौडेलको कप्तानीमा लयमा फर्किँदै गरेको नेपाली टोलीलाई यस छनौट प्रतियोगिता अग्निपरीक्षाको रुपमा रहने छ । जिम्बावेमा ऐतिहासिक सफलता हासिल गरेर नेपाल विदेशी भूमिमा पनि राम्रो खेल्न सक्छ भन्ने उदाहरण दिन राम्रो अवसर रहेको छ ।
आशा गरौं यसपटक नेपालले एकदिवसीय विश्वकप खेलेको हेर्न पाइनेछ, वर्षौंदेखिको नेपालीको सपना साकार हुने छ । टोलीलाई जीतका लागि अग्रिम शुभकामना !

