गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अर्ब १६ करोड बजेट, टुक्रे योजना कटौति

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत गरेको हो  । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिए ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताए ।

“संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौ,” उनले भने “बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूणर्ता दिन प्राथमिकता दिदै नयाँ योजना थपिएका छन् ।”

गण्डकीमा प्रदेशसभा सदस्यको सिफारिसमा सञ्चालन हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक जना सांसदले रु. दुई करोड बजेटका योजना सिफारिस गर्न पाउने गरि बजेट ल्याइएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय