हिन्दी चलचित्रमा भाग्यमानी बुबाका अभागी छोराहरु !

भारतीय चलचित्र उद्योगमा एकछत्र राज गरेका अमिताभ बच्चनका छोरा हुन् नायक अभिषेक बच्चन । अमिताभ र जया बच्चनको चर्चा जति छ त्यति चर्चा अभिषेकको कहिल्यै भएन। बरु अभिषेक पत्नी ऐश्वर्य राय बच्चनको चर्चा बलिउडमा बढी छ।
हिन्दी सिनेमा जगतमा यस्ता कैयौं कलाकार छन् जसलाई बुबाको जत्तिको चर्चा कमाउन र दर्शकको मन जित्न कठिन भयो। अझ कतिपय कलाकारको त पहिलो चलचित्र सुपरहिट भएपनि त्यसपछिका चलचित्र क्रमशः फ्लप हुँदै गए र अन्ततः बलिउड फिल्म इंडस्ट्रीबाट गायब नै भए।
यो लिस्टमा राजेन्द्र कुमारको छोरा देखि फिरोज खानको छोराको समेत नाम आउँछ । कतिपय कलाकार यस्ता अभागी पनि छन् जसको बुबा त हिट भए तर छोरा भने फ्लप भैदिए ।
कुमार गौरव चर्चित अभिनेता राजेन्द्र कुमारका छोरा हुन् । कुमारको पहिलो फिल्म उनको बुबाले नै लगानी गरेका थिए । जसको नाम थियो ‘लव स्टोरी’ । पहिलो फिल्मबाट नै कुमारले सफलताको पहाड चढे तर त्यसपछि क्रमशः उनको फिल्मी यात्रा ओरालो हुँदै अन्त्य नै भयो।
यस्तै अभिनेता फिरोज खानको छोरा फरदीन खान पनि अहिले बलिउडमा गुमनाम छन् । १९९८ मा आएको फिल्म ‘प्रेम अगन’बाट डेब्यू गरेका फरदिनलाई बेस्ट डेब्यूको अवार्ड पनि मिलेको थियो । त्यसपछि उनले जंगल, प्यार तूने क्या किया, हम हो गए आपके, खुशी, देव, प्यारे मोहन, लाइफ पार्टनर लगायत फिल्ममा काम गरे । तर फरदीनको धेरै फिल्म हिट हुन सकेन । त्यसपछि उनले बलिउडबाट विश्राम लिनुपर्ने अवस्था आयो ।
भारतीय चलचित्र उद्योगमा सलमान, शाहरुख र आमिर खान सुपरस्टार छन । तर, अन्य खान भने फ्लप भए । ति मध्ये फरदिन पनि एक हुन् । त्यस्तै अर्का फ्लप खान हुन जायद खान । नायक संजय खानका छोरा जायद खानले केही फिल्ममा काम गरे तर, नाम भने कमाउन सकेनन् ।
उनले २००३ मा आएको फिल्म ‘चुरा लिया है तुमने ‘ बाट बलिउडमा इन्ट्री गरेका थिए । यसबाहेक वादा, दस, शादी नं. वन, कैश, स्पीड और तेज सहित अन्य फिल्ममा काम गरे तर सुपर फ्लप भयो ।
अभिनेता जितेन्द्रका छोरा तुषार कपूरको नाम पनि यो लिस्टमा पर्छ । तुषारले फिल्म ‘मुझे कुछ कहना है’ बाट आफ्नो अभिनय सुरु गरेका थिए । यो फिल्मलाई बक्स अफिसबाट राम्रै रेस्पोन्स मिलेको थियो । तुषारलाई निकै कम फिल्ममा मूख्य अभिनेताको भूमिकामा देखियो । लगातार फिल्म फ्लप भएपछि अहिले तुषार साइड रोलमा काम गर्छन् ।
त्यस्तै हिन्दी सिनेमाका चर्चित अभिनेता तथा डांसर मिथुन चक्रवर्ती अहिले पनि आफ्नो अभिनयको कारण चिनिन्छन् । उनलाई एक राम्रो डान्सर पनि मानिन्छ। तर मिथुनको छोरा महाक्षयको फिल्मी करियर अहिलेसम्म बनेको छैन । महाक्षयलाई दर्शकले फिल्म हन्टेडबाट चिन्छन् । मिथुनको स्टारडम भने अहिलेसम्म कायम छ। तर, छोरा एउटै चलचित्रबाट गुमनाम भए।
अभिनेता अनुपम खेर पनि भारतीय चलचित्रमा रुचाइएको पात्र हुन् । उनको स्टारडम कुनै सुपरस्टार भन्दा कम छैन । अन्तिम पटक उनी फिल्म उचाइमा देखिएका थिए । उनको छोरा सिकन्दर खेरको फिल्मी करियर भने खास रहेन। उनको पहिलो फिल्म २००८ मा आएको वुडस्टाफ विला थियो। त्यसपछि उनी कतै नोटिसमा परेनन् ।
बलिउडमा धर्मेन्द्रका छोरा सन्नी र बबी देवल, ज्याकी श्राफका छोरा टाइगर श्राफ, राकेश रोशनका छोरा ऋतिक रोशन भने अहिलेपनि चल्तीका कलाकार मानिन्छन् ।

