सहकारीको २ अर्ब हिनामिनाको आरोप लागेका नगरप्रमुख अझै फरार !

काठमाडौं, २९ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख (मेयर) समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली २ अर्ब हिनामिनाको आरोपपछि फरार छन् ।
मेयर नेपालीले एउटै नामको सहकारी बागलुङ र पोखरामा पनि संचालन गरेका थिए । मेयर नेपाली फरार रहेपछि उनी विरुद्ध ७ सय ७ जना बचतकर्ताले उजुरी दिएका छन् । यो सहकारीमा २ हजारदेखि ३ करोड सम्म बचत जम्मा गरेका पिडीत छन् ।
बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको हो । उनको सहकारीमा ५ हजार जना भन्दा बढि शेयर सदस्यको बचत छ।
२०७४ सम्म नेकपा माओवादी पार्टीमा रहेका मेयर नेपाली ०७४ को स्थानीय निर्वाचनमा माओवादीले टिकट नदिएपछि एमालेमा प्रवेश गरि टिकट लिएर मेयर निर्वाचित भएका थिए। उनी ०७९ मा दोस्रो पटक पनि मेयर जितेपछि राजनीतिमा समेत बलियो पहुँच थियो।
नेपालीले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत बिश्वास जितेका थिए। उनी प्राय हेलिकप्टरमा यात्रा गर्दथे। उनको बागलुङ काठमाडौ र पोखरामा घर तथा जग्गा छ ।
मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका मेयर नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई वैशाख ७ गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर, अहिलेसम्म उनीहरुको अत्तोपत्तो नभएको बचतकर्ता राजेश राजभण्डारी बताउँछन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्द उजुरी लिन पत्राचार गरेको थियो ।

