चर्पीमा पनि भ्रष्टाचार !

पोखरा, २९ जेठ । भ्रष्टाचार राष्ट्रिय रोग बन्दै गइरहेको बेला विद्यालयको चर्पी निर्माणमा समेत भ्रस्टाचार भएको भन्दै उजुरी परेपछि स्थानीय अचम्ममा परेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको हो। उक्त विद्यालयमा चर्पीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस स्कुलका प्रधानाध्यापक नारायणप्रसाद पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानाध्यापक पौडेलले भ्रष्टाचार गरेको उजुरीको आधारमा उनी विरुद्ध मुद्दा दायर गरेको हो । विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेल विरुद्ध चर्पी निर्माणका लागि आएको २ लाख र विद्यालयको अक्षयकोषको १ लाख १२ हजार भ्रस्टाचार भएको आरोप छ।

