चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

तस्वीर: एन्फा

काठमाडौं, २३ जेठ । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले सहभागिताको पहिलो सिजनमै सहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मङ्गलबार भएको खेलमा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइज एक खेलअगावै च्याम्पियन बनेको हो ।

वि सं २०६६ सालमा स्थापित क्लबले २०७६ मा सी डिभिजन छनौट, २०७७ मा सी डिभिजन लिग, २०७८ मा बी डिभिजनको उपाधि जितेको टोलीले यसपटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

घरेलु फुटबलमा सी डिभिजन छनौटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ । यसअघि मनाङ मर्स्याङ्दी क्लबले डि डिभिजनदेखि ए डिभिजनसम्मको उपाधि लगातार जितेर रेकर्ड बनाएको थियो ।

लिगमा २५ खेल खेलेको चर्च ब्वाइजले १२ जित, ९ बराबरी र ४ हारसहित ४५ अंक जोडेको छ । दोस्रो स्थानको मच्छिन्द्रको २४ खेलमा ३९ अंक छ । हेड टु हेडमा चर्च ब्‍वाइज अगाडि भएका कारण मच्छिन्द्रले ४५ अंक पुर्‍याएर चर्च ब्वाइज पराजित भएपनि उपाधि विजेतामा असर पर्ने छैन ।

थ्रीस्टार भने बराबरीपछि २९ अंक जोड्दै १२औं स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय