प्रवीण हत्या प्रकरण: राजुलाई जन्मकैद, गोविन्दलाई तीन र प्रकाशलाई डेढ महिना कैद

रासस

तनहुँ, २३ जेठ । तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरूङको हत्या अभियोगका अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले अभियुक्त भानु नगरपालिका–६ का राजुलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै अभियुक्तबाट पीडितका परिवारलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अभियुक्त राजु २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

अर्का अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका तेस्रा अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र सात हजार पाँच सय रूपैयाँ जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए ।

बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अंकित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ ।

२०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर एक लाख धरौटी तिरेर तारेखमा रिहा भएका थिए ।

प्रवीण गुरूङ २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए । उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरूङस्थित खोल्सामा फेला परेको थियो। हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरूङले अभियुक्तहरूविरूद्ध किटानी जाहेरी दिएका थिए ।

तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिन बोलाएका थिए। सामान लिन पवनसँगै उनका साथीहरू दीपक भण्डारी, अंकित अधिकारी र प्रवीण गुरुङ पनि नावरूङ पुगेका थिए ।

नावरूङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरूङसहितको टोलीबीच झगडा परेको थियो। सोही रातदेखि प्रवीण बेपत्ता भएको पीडित परिवारको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय