बससँग मोटरसाइकल जुध्दा दुई युवकको ज्यान गयो

बुटवल, २१ जेठ । बुटवलमा सवारी दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा बस र मोटरसाइकल जुधेका थिए ।
बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गुल्मी मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका-८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

