युनाइटेडलाई हराउँदै सिटी एफए कप च्याम्पियन

काठमाडौं, २१ जेठ । प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीले एफए कपको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा सहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै सिटीले सिजनको दोस्रो उपाधि जितेको हो ।
सिटीको जीतमा जर्मन मिडफिल्डर इल्काए गुन्डोगानले दुवै गोल गरे भने युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफ १ १ को बराबरीमा सकिँदा दोस्रो हाफमा भएको एक गोल निर्णायक बन्यो ।
खेलको १५ सेकेन्डमा नै इल्काए गुन्डोगानको गोलमार्फत सिटीले अग्रता लिन सफल भएको थियो । केभिन डि ब्रुएनाको पासमा उनको बाँया खुट्टे भली प्रहार रोक्ने गोलरक्षकले कुनै मौकै पाएनन् ।
३३औं मिनेटमा सिटीका ज्याक ग्रिलिशले ह्यान्डबल गरेपछि भिएआरमार्फत पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ यतिमै सीमित थियो ।
दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । यसपटक पनि केभिन डि ब्रुएनाकै पासमा उनले ग्राउन्डेड भली प्रहारमार्फत गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल हुन सकेन र सिटी च्याम्पियन बन्न सफल भयो ।
यसअघि प्रिमियर लिगको उपाधि जितिसकेको सिटीको यो दोस्रो उपाधि हो र अब च्याम्पियन्स लिग जित्दै ट्रेबल जित्ने सम्भावना कायम राखेको छ ।
सिटीले अर्को आइतबार राति युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।

