शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाहीको मागसहित देशव्यापी प्रदर्शन
काठमाडौ,१ जेठ ।
मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै उक्त प्रकरणका मूल दोषीहरुमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।
यस क्रममा ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौको माइतिघर र जिल्लाभर धर्ना प्रदर्शन सम्पन्न भएको हो।
प्रदर्शनमा ‘ठूला नेता मिलेका :अर्ब-अर्ब निलेका’ शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, शिर्ष नेता भ्रष्ट छन् :नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ: लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु : कुशासन र दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेताहरुसहित सबैलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
काठमाडौको प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शिर्ष नेताहरुको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको बताउँदै प्रमुख दलका शिर्ष नेताहरुको तत्काल सम्पत्ति छानविन हुनुपर्नेमा जोड दिए । धर्ना प्रदर्शनमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह के.सी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए भने स्रष्टाहरु अर्जुन पराजुली, रामेश्वरी पन्त र धिरेन्द्र प्रेमर्षिले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषिहरुलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए ।

