टोपबहादुरलाई अदालत लगियो
काठमाडौ,१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले अदालत पुर्याएको छ।
अर्घाखाँचीबाट काठमाडौ आउनेक्रममा फरार भएका रायमाझी ११ दिनपछि काठमाडौको बुढानिलकण्ठ स्थित पासीकोटमा रहेको जिल्लावासीको घरबाट पक्राउ परेका थिए।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने उच्च तहका नेता मध्य रायमाझी पनि हुन् । यसअघि प्रहरीले नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको थियो। रायमाझी र खाणसंगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।
रायमाझी बैशाख २० गते गृह जिल्ला अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसंगै गएका थिए। तर,कार्यक्रम सकेर सभामुख घिमिरेसंगै काठमाडौ फर्कने तयारीमा रहेका उनि प्रहरीको पक्राउ पुर्जी जारी भएसंगै फरार भएका थिए।
अर्घाखाँचीबाट ४ पटक चुनाव जितेका र पटकपटक मन्त्री भएका रायमाझीको नक्कली भुटानी सरणार्थी प्रकरणमा संलग्नता रहे वा नरहेको अनुसंधान गर्न प्रहरीले आजै अदालतबाट म्याद थपको अनुमति लिने र थप अनुसंधान गर्ने भएको छ।

