यसरी हुँदैछ सरकारमा रविको ‘रि-इन्ट्री’
काठमाडौ,२१ बैशाख।
आज रातभरमा कुनै अप्रत्याशित राजनीतिक गतिविधि भएन भने राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार प्रचण्ड नेतृत्वको सरकारमा ‘रि-इन्ट्री’ गर्दैछ।
पार्टी सभापति रवि लामिछानेलाई उपप्रधान सहित गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित सत्ता गठबन्धनका सबैजसो दलको सहमति छ। बैशाख १० को उपनिर्वाचन जिते लगत्तै प्रधानमन्त्री प्रचण्ड र रविको भेटघाट बाक्लिएको मात्रै होइन सत्ता सहकार्यको तयारी समेत भएको छ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेका बिच चुनाव लगत्तै भएको टेलिफोन वार्ता र त्यसपछिको बालुवाटार भेटमा पनि रविलाइ पुरानै मन्त्रालयमा फर्काउने बारे कुराकानी पनि भएको छ। तर,रास्वपाले भने यसको निर्णय शुक्रबार गर्नेछ।
स्रोतका अनुसार प्रधानमन्त्रीले रविलाई उपप्रधान सहित गृहमन्त्री तथा उनको पार्टीलाई थप २ मन्त्रालय दिने बताएका छन् । गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पनि यसमा सकारात्मक छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपा सरकारमा आउँदा राम्रो हुने अभिव्यक्ति दिइसकेका छन् ।
पार्टी सरकारमा सहभागि हुने नहुने बिषयमा शुक्रबारको बैठकपछी थप कुरा आउने रास्वपा महामन्त्री तथा प्रबक्ता डा.मुकुल ढकाल बताउँछन्।‘कसैसँग पनि दुरी बढाउने पक्षमा हामी छैनौं’ उनले भने-‘सरकार प्राथमिकता नरहेको तर मिलेर जनताको एजेन्डा सम्बोधन गरौं भनियो भने हामी जनताको प्रतिनिधि भएर सरकारमा रहन सक्छौं।’
महामन्त्री ढकालले सरकारमै जान रास्वपा हतारियो वा सत्ताको भोको भयो भन्ने ढंगले बुझ्न खोजियो भने त्यो गलत हुने पनि बताए।’प्रस्ताव त सबैतिरबाट आउँछन् तर के गर्ने भन्ने कुरा पार्टी बैठकले छिनोफानो गर्ने हो’ उनले भने-‘सरकारले निति तथा कार्यक्रम बनाउदा हाम्रो एजेन्डा समावेश गर्नुपर्यो,जनताको पक्षमा काम गर्नुपर्यो र भ्रष्टाचारको फाइल खोल्नुपर्यो,यो आजको मुख्य कुरा हो ।’

