आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, १८ वैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा पनि मनाइँदै छ । विभिन्न मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत विभिन्‍न दलका नेताहरुले मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् । मजदुर दिवसको अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय