एसिसी प्रिमियर कप: नेपाल र युएई फाइनलमा

काठमाडौं, १६ वैशाख । नेपाल र युएई काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । नेपालले कुवेत तथा युएईले ओमानलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन् । दुवै सेमिफाइनल खेल वर्षाले प्रभावित भएका थिए ।
४२ ओभरमा घटाइएको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको थियो । पटकपटक वर्षाले प्रभावित भइरहेपछि अन्ततः कुवेत ३७-६ को अवस्थामा रहेका बेला खेल त्यसपछि हुन सकेन र समूह चरणमा कुवेतभन्दा राम्रो प्रदर्शन गरेका आधारमा नेपाल फाइनलमा पुगेको हो ।
उता मुलपानीमा भएको अर्को सेमिफाइनल खेलमा युएईले दिएको २३७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ४३ ओभरमा १९०-६ को अवस्थामा थियो । त्यसपछि थप खेल हुन सकेन र युएई डिएल प्रणालीका आधारमा २ रनले विजयी हुँदै फाइनलमा पुग्न सफल भए ।

