रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र अनुपस्थित

काठमाडौ, १५ वैशाख । गएको आइतबार सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेद्वारा उनीहरुको शपथ भएको हो । बारा २ बाट निर्वाचित उपेन्द्र यादव भने उपस्थित भएनन् ।
सांसद पदको शपथ लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बर्तमान सरकारको नेतृत्वमा सरकारमा सहभागी हुने संभावना नरहेको बताए ।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना नभएको र आगामी निर्वाचन पछि आफैं सत्ताको नेतृत्व गर्नेगरी पार्टीलाई अगाडी बढाउने समेत बताए ।’अहिले सरकारमा जाने वातावरण छैन’ उनले भने-‘समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौं।’
उनले सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना धेरै देखिएको बताए । आमनागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएको र सरकारमा जादा त्यो पूरा नहुनसक्ने औंल्याए ।

