तीन जिल्लामा आज उपनिर्वाचन हुँदै, मतदान केन्द्रमा चहलपहल सुरु

काठमाडौ, १० बैशाख । प्रतिनिधिसभा सदस्याका लागि चितवन, बारा र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । अबको केहीबेरमा तीनै जिल्लामा मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरि राजमार्ग बन्द गरिएको छ । यसैगरी निर्वाचन क्षेत्रमा सार्बजनिक बिदा दिनुको साथै सार्वजनिक यातायात समेत बन्द गरिएको छ ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले दिएको जानकारी अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न सकिने छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न यो अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको जनाएको छ।
मतदानको अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगको भनाइ छ ।
तीनै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा विहानैदेखि चहलपहल सुरु भएको छ ।

