मध्यरातदेखि मौन अवधि सुरु, चुनावी प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, ८ वैशाख । यही वैशाख १० गते आइतबार हुन लागेको उपनिर्वाचनको मौन अवधि गएराति १२ बजेदेखि सुरु भएको छ । अब निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि तथा प्रचारप्रसार पूर्ण रुपमा निषेधित छ ।
उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

