पर्यटकीय क्षेत्र पोखरा लेकसाइडमा खानेपानी समस्या !
नियमित गर्न होटल संघको मागपोखरा, ६ वैशाख ।
होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
खानेपानी समस्याले समग्र बैदामवासि पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गंभीर बन्न संस्थानसँग माग गरिएको बताए । पोखराको लेकसाइड प्रमुख पर्यटकीय क्षेत्र पनि हो। यहाँ दैनिक हजारौं स्वदेशी तथा बिदेशी पर्यटक भ्रमण गर्न आइपुग्छन।
पर्यटकीय सिजन चल्दै गर्दा बैदाम क्षेत्रमा खानेपानी अभाव भए पछि व्यवसाय नै प्रभावित भएको गुनासो संघको रहेको छ । अन्य अवस्थामा समेत खानेपानी आधारभूत र अत्याबश्यक वस्तु भएको स्मरण गराउँदै संघले पानी आपूर्ति नियमित र सुचारु गर्न संस्थानसँग माग गरेको हो ।
सामान्य नागरिक र व्यवसायी सबैका लागि खानेपानी उत्तिकै आबश्यकता र महत्वको वस्तु भएको जनाउँदै संघले विल नियमित तिर्नुपर्ने तर धारामा पानी नआउँदा उपभोक्ता पीडित बन्नु परेको जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको काम विसं २०७६ देखि सुरु गरिए पनि आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढे पनि कोभिड १९ का कारण काम प्रभावित हुन पुगेको थियो ।

