करिब २८ लाखको आलु बिक्री गर्दै सकियो हेम्जा आलु महोत्सव
रासस
पोखरा, ४ वैशाख । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरको आलु बिक्री भएको छ ।
स्थानीय विष्णुपादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित गत चैत २६ गतेदेखि महोत्सव सञ्चालन गरेको थियो । महोत्सव आइतबार सकिएको हो ।
महोत्सवस्थलमा आलुको पहाड निर्माण गरिएको थियो । सोही पहाडमा बिक्री गरिएको हो । महोत्सवस्थलबाट ८० टन आलुको बिक्री भएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताए । महोत्सवमा प्रतिकेजी रु ३५ मा आलु बिक्री गरिएको थियो ।
कृषक तिमिल्सिनाले हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी भएको बताए । उनका अनुसार यहाँको आलुको माग पोखराभन्दा बाहिर पनि बढी हुने गरेको छ । हेमजा आलुसहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा रहेको छ ।
हेम्जाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ । महोत्सवमा कूल रु पाँच करोड बराबरको कारोबार भएको बताइन्छ । महोत्सव समापनका अवसरमा अग्रज कृषकहरुलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो ।
हेम्जाका आलु उत्पादक कृषकहरु देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शिलशोभा नेपाली र निरज तिमिल्सिना सम्मानित भए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताब नै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
एक वडा एक उत्पादनका लक्ष्यसहित महानगर अगाडि बढिरहेको बताउँदै आचार्यले कृषिलाई आयआर्जनसँग जोड्न सकेमात्रै समृद्धि हासिल हुनसक्ने बताए ।

