मौलाकालिका केबलकार आजदेखि सञ्चालनमा

गैँडाकोट, १ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको मौलकालिका मन्दिरमा जानआउनका लागि केबलकार सेवा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०८० को सुरुवातसँगै शुक्रबार विहानदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी १०० वर्षीया वृद्धा सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेका थिए ।

उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी मूल्य (आउन र जान) ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरु (अपाङ्ग) का लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ ।

केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । केबलकारको टिकट मोबाइलमार्फत आईएमई पे एपबाट पनि  काट्न सकिने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय