कागेश्वरी-मनोहराका मेयर कार्की सहित ४२ जनाले गरे मृत्युपछि अंग दान गर्ने घोषणा

चैत २८, काठमाडौ ।

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् ।
नगरपालिकाको थलीमा भएको एक कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने घोषणा गरेका हुन् ।

कागेश्वरी-मनोहरा नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा ‘स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रममा सो कुराको घोषणा भएको हो ।
कार्यक्रममा कागेश्वरी-मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासमेत ४२ जनाले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेका थिए।
नगरप्रमुख कार्कीले मृत्युपश्चात आफ्नो शरीरका विभिन्न अङ्ग काम लागेमा दान गर्दा पुण्यको काम हुने बताए । आफूले धर्ती छाडे पनि आफ्ना विभिन्न अङ्गले अन्य बिमारी मानिसको स्वास्थ्य बचाउन सकिन्छ भने अङ्गदान महत्त्वपूर्ण हुने उनको भनाइ छ ।’नेपाली समाजमा मृत्युपश्चात जलाउने र गाड्ने खालको परम्परा रहेको छ । अग्निदाह गर्नुपूर्व अङ्गदान गर्न आवश्यक रहेछ’ उनले भने-‘मैले पनि मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेको छु, तपाईंहरू पनि मृत्युपश्चात अङ्ग दान गर्नुहोस् ।’
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै राष्ट्रियरूपमा अभियान चलाउने प्रतिबद्धता जनाए ।

निर्देशक श्रेष्ठका अनुसार मृत्यु भएको एक जनाको शरीरबाट हाल नेपालमा दुई मिर्गौला, दुई फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज, सानोआन्द्रा गरी कूल आठ अङ्गदान गर्न मिल्ने जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा सभापति श्यामकाजी डोटेलले ‘रक्तदान जीवनदान’ भन्दै रगत दान दिने व्यक्तिहरू भए जस्तै अब अंगदान गर्नेहरू पनि धेरै रहेको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय