सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम विवादित
हाम्रो होइन-एमाले, हाम्रो पनि होइन-रास्वपा
काठमाडौं, २५ चैत । सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा विपक्षी दल नेकपा(एमाले) सँगै गठबन्धनका दलहरूको समेत विरोध देखिएको छ।
सत्ता गठबन्धनका दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले न्युनतम साझा कार्यक्रममा असन्तुष्टि जनाएका छन् । ती पार्टीले सरकारलाई समर्थन मात्रै गरेको तर समर्थन गरेकै आधारमा सरकारका सबै कुरामा सहमत हुनुपर्ने कारण नभएको बताएका छन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त आफ्नो हस्ताक्षर समेत दुरुपयोग भएको भनेका छन् । आफुले अन्य प्रयोजनका लागि स्वीकृति दिएको डिजिटल हस्ताक्षर न्युनतम साझा कार्यक्रममा प्रयोग भएकोमा उनले आपत्ति प्रकट समेत गरेका छन् ।
यसैगरी रास्वपा महामन्त्री मुकुल ढकालले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको हिस्सेदार आफुहरु नभएको बताएका छन् । उनले यो न्युनतम साझा कार्यक्रमको जस र अपजस दुबैमा रास्वपाको कुनै भुमिका नहुने स्पष्ट गरेका छन् ।
उता,एमाले नेता रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् ।पन्तले सरकारले प्रश्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको र एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेकोले एमालेको हस्ताक्षर नभएको भन्दै त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने जिकिर गरे।
न्युनतम साझा कार्यक्रममा सबै दलका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको भन्दै सरकारको प्राथमिकताको विषय मूर्त रुपमा आउन नसकेको बताए। ‘जुन साझा सहमति उहाँहरुले ल्याउनुभएको छ, यो त दश दलको हो । हस्ताक्षर नै दश दलका नेताहरुले गर्नुभएको छ । संसदमा १० दल मात्रै छन् ? नेकपा (एमाले) प्रमुख प्रतिपक्षको हैसियतमा छ र उसले त्यसमा हस्ताक्षर गरेको छैन । अनि कसरी यो राष्ट्रिय सहमतिको दस्तावेज भयो ?’ उनले भने ।

