चितवनतर्फ नदी मिचिएको भन्दै नवलपुरमा विरोध

नवलपुर, २४ चैत । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् ।
‘गैँडाकोट बचाऊँ अभियान सङ्घर्ष समिति’ले तटबन्धको काम तत्काल रोक्न भन्दै बिहिबार गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध समेत गरेको थियो ।
समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको भन्दै समितिले आज गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको हो ।
समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुन सक्ने बताए ।
समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएसँगै विरोधका कार्यक्रम सुरु गरेको हो । समितिका संयोजक सापकोटाले चितवनतर्फ गरिएको तटबन्ध एकपक्षीय भएको बताउँदै भने, ‘हामीले पटक–पटक त्यो काम तत्काल रोक्न छलफल र कुराकानी गर्दै आएका थियौँ, हाम्रो आग्रहलाई नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको हो ।’
भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै रु १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ ।

