एमाले अध्यक्ष ओलीकै सल्लाहमा पूर्वराजालाई झापा ल्याएको हो- दुर्गा प्रसाईं

काठमाडौं, २४ चैत । व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउन सक्ने बताएका छन् । उनले एमाले अध्यक्ष ओली संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी नै गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले आफू हिन्दु राष्ट्र र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको भन्दै प्रसाइले यो पनि भने- ‘मैले ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरेको हु।’
तत्कालको लागि आफ्नो अभियान अन्तर्गत नेपाल बन्द गर्ने कुरा स्थगित गरिएको भन्दै प्रसाईले केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको आलोचना समेत गरेका थिए।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि प्रसाईं ले ‘दलाल’ भन्न भ्याए।
उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे । ‘मैले केपी ओलीज्यूकै सल्लाहमा राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो । मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ र मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओली ज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनले भने ।
प्रसाईले अझै अगाडि भने, ‘म पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि ओली हजुरबुबाले अहिले राजा नल्याऊ न नाति भन्नुभयो।’
प्रसाईले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि । तर कसोकसो गर्दा उहाँ आउनु भएन । त्यसपछि हिक्मत कार्की र केही ब्यक्तिले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।
अर्को प्रसंगमा उनले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयता नै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदैन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने ।
दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजा फर्काउने अभियानमा रहेको छ ।

