सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा चमत्कारिक सुधार

काठमाडौं, १७ चैत । नेपाली काङ्ग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थमा सुधार हुँदै गएको र अबको केही समयमा डिस्चार्ज हुनसक्ने बताइएको छ । ग्यास सिलिन्डर लिक भै आगलागीहुँदा घाइते भएका भण्डारीको हाल भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ।
उनका आफन्तले दिएको जानकारी अनुसार ४३ औं दिन सम्म आइपुग्दा उनको अनुहारको छाला पलाएको र हातको ब्याण्डेज पनि खोलिएको छ। भण्डारीको उपचारमा डा.मान्सीको टोली खटिएको छ । उनको हिजो ड्रेसिंग गरिएको र बायाँ हातको व्याण्डेज खोलिएको छ । उनको स्वास्थ्यको सबै ग्राफ राम्रो रहेको डाक्टरले बताएका छन् ।
गत मार्च ११ मा तेस्रो सर्जरी गरिएका भन्डारी बोल्न र सामान्य उठेर बस्न सक्ने भएका छन् । उनको शरीरमा ज्वरो छैन । डाक्टरी भाषामा सवै प्यारामिटर सामान्य रहेका छन् ।
उनको फिजियोथेरापी क्रमिकरुपमा भई रहेको छ । शारिरिक गति एवं हिडाईको अनुपात राम्रो भई रहेको छ । राम्रोसंग बोल्न सक्ने र स्मरणशक्ति ठिक रहेको उनका सहयोगी योगराज कडेलले जनाएका छन् ।
संक्रमण रोक्नका निमित्त अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा प्रतिबन्ध लगाएका छन् । अस्पतालका प्रमुख डा. सुनिल मनोहर केश्वनीले भेटघाट अभै केही समय नगर्न निर्देशन दिएका छन् ।

