रसुवागढी र केरुङ नाकाबाट दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं, १६ चैत । रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधबार बसेको पहिलो बैठकमा सो सहमति भएको हो ।

सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढीरकेरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । यसैगरी तातोपानीरझाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी-पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ ।

संयन्त्रको बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय