प्रधानमन्त्री प्रचण्डको तेस्रो इनिङ सफल हुन्छ– मन्त्री शर्मा

काठमाडौं, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने विश्वास दिलाएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । सो अवसरमा उनले सरकारले भोलिसम्म पूर्णता पाउने पनि दाबी गरेकी छिन् ।

मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउने दाबी गरिन् । उनले भनिन्–‘सरकारको सय दिनको अवधि पुग्नपुग्न लाग्दैछ । सरकारले र सम्माननीय प्रधानमन्त्रीज्यूले दुई दुईपटक संसद्मा विश्वासको मत लिने परिस्थिति बन्यो । पहिलोपटक सर्वसम्मतजस्तो बन्यो । नेपालको राष्ट्रिय राजनीति सहमतिको मार्गमा अघि बढ्न खोज्दै थियो । तर, दोस्रो पटक उहाँले विश्वासको मत लिने अवस्था बन्यो, र उहाँले मत पाएको अवस्था छ । अहिले संघद्धीयता कार्यान्वयनको विषय छ। संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउनुपर्नेछ । हामी एक खालको सहमति र संस्कारमा अघि बढनेछौं ।’

उनले युद्धका घट्ना नियतवश नभएको स्पष्ट पारिन् । विद्येयक बनाउँदा आफूहरुले विज्ञहरुका सल्लाह र सुझाव लिएको उनको दाबी छ । उनले भनिन्,‘यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्रीज्यूले जनताको आशा र भरोसा जगाउन सकारात्मक भूमिका खेल्नुभएको छ। सरकार गठन भएको यत्तिका दिन भयो, अहिलेसम्म के काम भयो भन्ने चासोको विषय छ । सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलायो, सरकारले केही गर्छ भन्ने भाव जागृत भयो । त्यो नै ठूलो कुरा हो । प्रधानमन्त्री प्रचण्ड तेस्रो कार्यकालमा हुनुहुन्छ । ०६४ मा माओवादी सबैभन्दा ठूलो दल बन्यो । हामी त्यतिवेला राज्य सञ्चालनमा अभ्यस्त थिएनौं । छोटो समयमा दीर्घकालिन महत्वका काम त गर्यौं । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्व कार्यकालमा राम्रा कामको सुरुवात भएको थियो । प्रधानमन्त्रीज्यूले यो ईनिङमा केही गर्नुपर्छ भनेर अठोट गर्नुभएको छ । देश र जनताको पक्षमा, समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । अहिले अर्थतन्त्रको अवस्था सुधार भएको छ । उत्पीडित समूदायको पक्षमा काम भैरहेको छ । किसानको पक्षमा काम भएको छ । उखुको न्यूनतम मूल्य तोकिएको छ । सरकारी सेवामूलक क्षेत्रमा प्रभावकारी काम भएको छ । पासपोर्ट, परिचयपत्र, नागरिकता पाउने काम झन्झटिलो थियो । अहिले ती ठाउँमा त्यस्तो भिड छैन् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय