अस्ताउँदो सूर्यलाई अर्घ दिई चैते छठ मनाइदै (तस्वीर सहित )

काठमाडौं, १३ चैत । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी आज काठमाडौ गुहेश्वरी स्थित बागमती नदि किनारमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका जिल्ला सहित काठमाडौमा समेत धुमधामका साथ मनाइँदैछ । सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उदेश्य अनुरुप यो पर्व मनाइन्छ।

फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अर्घकालागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।

महाभारतका अनुसार द्रोपतीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेको बताइन्छ । फलस्वरुप अनुसुइयाले अटल सौभाग्य तथा परिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय