कागेश्‍वरी मनोहरा अब खेलकुदको शहर

काठमाडौं, १२ चैत । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको परिचय अब खेलकुदको शहरको रुपमा फेरीने भएको छ। विकास र समृद्धिको भिजनसहित नगरप्रमुख उपेन्द्र कार्कीले यसको अगुवाई गरिरहेका छन् ।

नगरपालिकालाई खेलकुदको शहर बनाउने योजना अनुसार यहाँ खेलकुदका थुप्रै पुर्वाधार निर्माण भैरहेका छन् । नगरप्रमुख कार्कीको महत्वाकांक्षी योजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सहयोग गर्ने पक्का गरेको छ।

राखेप सदस्य सचीव टंकलाल घिसिङले यसको पुष्टि गर्दै खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने बताएका छन् । कागेश्वरी मनोहराका नगर प्रमुख कार्की र राखेप सदस्य सचीव घिसिङ बिच भएको भेटमा यो बिषयमा सैद्धान्तिक सहमति भएको नगरपालिकाले जनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कार्यालयमा राखेप सदस्य-सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाले खेलकुदमा गरेको काम र खेलकुदको विकासमा लिएको महत्वाकांक्षी योजनामा सघाउन आफू तत्पर रहेको बताए ।

नगरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने तथा खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले सहयोग गर्ने घिसिङको भनाइ थियो। सो अवसरमा नगर प्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिकाले खेल स्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले नगरले उपलब्ध गराएका जग्गाको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर अगाडि बढ्न राष्ट्रिय खेलकुद परिषदको सहयोग चाहिने बताउदै गर्दा सदस्य सचीव घिसिङले आवश्यक बजेट विनियोजन गर्ने वचन दिए । मेयर कार्कीले खेलकुद नगरी बनाउने नगरको अभियानमा राष्ट्रिय खेलकुद परिषद्‌लाई जोड्न पाउँदा आफुलाइ खुशीको अनुभूति भएको बताए ।

आगामी मे महिनामा काठमाडाैँमा आयोजना हुने एसीसी मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदानमा पनि सञ्चालन हुने यसअघि सार्वजनिक भइसकेको छ । उक्त प्रतियोगिता सफल बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय