कोशी प्रदेश नामाकरण बिरुद्ध भएको आन्दोलनका घाईते पदम लिम्बुको मृत्यु
प्रदेश नम्बर १ को नामाकरण कोशी प्रदेश राखिएको विरोध प्रदर्शनकाक्रममा घाईते भएका एक जनाको मृत्यु भएको छ।चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको हो। आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए ।
टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति असहज भै बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ धरान स्थित बीपी कोइराला मेमेरियल हस्पिटल पु¥याइएको थियो ।
उपचारकैक्रममा उनको शुक्रबार विहान २ः३० बजे मृत्युभएको अस्पतालले जनाएको छ। उनि धरान–१५ का वासिन्दा हुन्।
उपचारको क्रममा उनको मृत्यु भएको कुरालाई ‘पुनः नामांकन संयुक्त संघर्ष समिति’ले समेत पुष्टि गरेको छ ।
घटनाको जिम्मा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड सहित नेपाल प्रहरी,प्रदेश १ का ८२ जना सांसद, राजनीतिक पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्कीले लिनुपर्ने भन्दै समितिले विज्ञप्तिमार्फत पदमको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ ।
यसैगरी संघर्ष समितीले उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग समेत राखेको छ। बीपी प्रतिष्ठानको आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको समितिले जनाएको छ ।
लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर रहेको र २०५२ देखि लिम्बुवान आन्दोलनमा सक्रिय रहेको बुझिएको छ।लाजेहाङको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

