चितवन-२ सँगै तनहुँ-१ र बारा-२ को उपनिर्वाचन पनि वैशाख १० मा

काठमाडौं, ७ चैत । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपचुनाव हुने भएको छ ।
तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।
रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ । त्यसअघि चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन पनि वैशाख १० मै गर्ने निर्णय भइसकेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचित भएपनि नागरिकता विवादका कारण उनको सांसद र मन्त्री दुवै पद खारेज भएको थियो ।

