तस्वीर खिच्ने क्रममा भीरबाट खसेर १५ वर्षीया किशोरीको ज्यान गयो

पर्वत, ६ चैत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर आइतबार बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्वीर खिच्ने बेला भीरमा खसेकी थिइन् ।
पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्वीर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए।
न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

