बुबाको किरियामा रहेका सांसद बरालले संसद पुगेर गरे मतदान

काठमाडौं, ३ चैत । नेपाली काँग्रेसका युवा नेता एवं गण्डकी प्रदेशका सांसद प्रकाश बरालले बुबाको किरियामा रहेकै अवस्थामा पोखरादेखि संसद भवन नयाँ बानेश्वर आएर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।
फागुन २६ गते बुबाको निधन भएपछि किरियामा बसेका सांसद बराल किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिन बुद्ध एयरको विमानबाट काठमाडौं आएका हुन् ।
उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ । पोखरा महानगरपालिका २२ पुम्दीभूम्दी निवासी बरालले पार्टीको आग्रह र मतदाताको सम्मान अनी आफ्नो मताधिकार प्रयोगको लागि आएको बताए ।
उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् ।
यद्यपि जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी थिईन् । तर,समय घर्किसकेका कारण उनको उम्मेदवारी निर्वाचन आयोगले प्रकाशित गरेको सूचिबाट हटेको छैन।

